एक रातकालागि पुनर्जीवित भएका थिए महाभारतका योद्धा!

मंसिर २७,२०७५

-

२७ मंसिर २०७५ काठमाण्डौ l 

 

महाभारत युद्धमा पाण्डवले भीष्म, द्रोणाचार्य, दुर्योधन, कर्ण आदि योद्धाको वध गरेको त सबैलाई थाहा नै छ, तर महाभारत युद्धमा मारिएका सबै वीर योद्धा एक रातकालागि पुर्नजीवित भएको भने कमैलाई मात्र थाहा होला। यो कुरा सुन्दा केही अचम्म लागेपनि यो घटनाको पूरा वर्णन महर्षि वेदव्यासद्वारा रचित महाभारत ग्रन्थको आश्रमवासिक पर्वमा उल्लेख गरिएको छ।

 

महाभारत युद्धपछि युधिष्ठिर हस्तिनापुरका राजा बने र धर्मपूर्पक शासन गर्न थाले। अर्जुन,नकुल, सहदेव, द्रौपदी आदि पनि सबै धृतराष्ट्र तथा गान्धारीको सेवामा लागिरहन्थे। यस प्रकार धृतराष्ट्र,गान्धारी पाण्डवसँग बसेको १५ वर्ष व्यतीत भयो।

 

एक दिन भीमले धृतराष्ट्र तथा गान्धारीका सामुन्ने यस्तो कुरा भने जुन कुरा सुनेर उनीहरुलाई निकै दुख भयो। यो कुरा सुनेर धृतराष्ट्रलाई के लाग्यो भने वानप्रस्थ आश्रममा नै बस्नु उचित लाग्यो।

 

धृतराष्ट्र तथा गान्धारीसँगै विदुर र संजयले पनि वन जाने निर्णय गरे। यो कुरा धृतराष्ट्रले युधिष्ठिरलाई भनेका थिए। यो कुरा सुनेर युधिष्ठिरलाई निकै दुख लाग्यो। तर, पछि महर्षि वेदव्यासले भनेपछि युधिष्ठिर पनि सहमत भए। धृतराष्ट्र, गान्धारी, विदुर र संजयसँग कुन्ती पनि वानप्रस्थ आश्रम गइन्। वनमा रहेर उनीहरु तपस्या गर्न थाले।

 

यसरी एक वर्ष पनि बित्यो। एक दिन राजा युधिष्ठिरलाई आफन्तसँग भेट गर्न मन लाग्यो। एक दिन उनी आफ्ना भाइ र द्रौपदीलाई लिएर वनमा गए। वनमा धृतराष्ट्र,गान्धारी, कुन्ती आदिसँग भेट भएपछि उनी निकै प्रशन्न भए।

 

ठीक त्यति नै बेला त्यहाँ महर्षि वेदव्यास पनि आए। उनले गान्धारी, द्रोपदी आदिसँग वरदान माग्न भने। उनीहरु सबैले युद्धमा मारिएका आफ्ना आफ्न्तसँग भेट गर्न पाउँ भन्दै वरदान मागे। महर्षि वेदव्यासले उनीहरुलाई तथास्तु भन्दै वरदान दिए।

 

राति भएपछि महर्षि वेदव्यास गंगा नदीमा प्रवेश गरे र पाण्डव र कौरव पक्षका सबै मृत योद्धाहरुलाई आह्वान गरे। केही समयपछि भीष्म, द्रोणाचार्य, कर्ण, दुर्योधन, दुशासन, अभिमन्यु, धृतराष्ट्रका सबै पुत्र, घटोत्कच, द्रोपदीका पाँच पुत्र, राजा द्रुपद, धृष्टद्युम्न, शकुनि, शिखण्डी आदि सबै बाहिर आए।

 

महर्षि वेदव्यासले धृतराष्ट्र तथा गान्धारीलाई दिव्यनेत्र प्रदान गरे। आफ्ना मृत परिजनलाई देखेर सबै हर्षित भए। आफ्ना मृत पुत्र, पति तथा अन्य परिवारका सदस्यलाई देखेपछि सबैको मन शान्त भयो। विहान भएपछि सबैजना आफ्नो लोकमा गए। यसप्रकार यो अद्भुत रातको समाप्ति भयोl