अमेरिकामा गर्भपतन गराए चिकित्सकलाई आजीवन कैद !

जेठ ०१,२०७६

-

जेठ १,२०७६ काठमाडौं ।
 
अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ ।
 
सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ ।
 
रिपब्लिकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रुप लिनेछ ।
 
नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।
 
संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । 
 
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ ।
 
सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो ।
 
तर बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यहरु सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन् । 
 
सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङ्गलटनका अनुसार अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको छ । रासस/एएफपी