एप्पल कम्पनीमा काम गर्ने भाग्यमानी नेपाली

जेठ ०५,२०७६

-

अमेरिका  । नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले एक वर्ष अघि सामाजिक सञ्जाल लिंकडिनमा लेखे, ‘एप्पलमा भर्खर काम सुरु गरें । हे मेरा भगवान ! म, मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई माया गर्छु ।’
 
अमेरिकाको बष्टनस्थित नर्थ इष्टर्न युनिभर्सिटीबाट चार वर्षअघि कम्प्युटर साइन्समा स्नातक गरेका क्षितिज एप्पल जानुअघि भुक्तानीसम्बन्धी अर्को टेक कम्पनी पेपलमा थिए । त्योभन्दा अगाडि उनले गोल्डम्यान स्याक्समा काम गरेका थिए ।
 
‘एप्पलको छनौट प्रक्रिया अति सुक्ष्म र वैज्ञानिक छ। पाँच चरण पार गरेर म छानिएको हुँ । अहिले आइफोन विभागको जिम्मेवारीमा छु ।’
‘पहिला गुगल, फेसबुकजस्ता ठूला टेक कम्पनीप्रति एक किसिमको धारणा थियो, त्यहाँ काम गर्नेहरु खतरा होलान् भन्ने लाग्थ्यो’, उनी सुनाउँछन्, ‘न्यूयोर्कको वालस्ट्रिस्थित गोल्डम्यान स्याक्समा काम गर्न थालेपछि मलाई एप्पलमा आवेदन दिन आँट आयो ।’
 
न्यूयोर्कको कम्पनीमा उनले निकै दवाबबीच काम गर्नुपथ्र्यो। त्यसले उनीभित्र ‘अमेरिकन स्पिरिट’ जागृत गरायो। आँट थप्यो। पाँच चरणको अन्तर्वार्तापछि उनलाई एप्पलले छानेको हो ।
 
‘एप्पलको छनौट प्रक्रिया अति सुक्ष्म र वैज्ञानिक छ। पाँच चरण पार गरेर म छानिएको हुँ’, लोहनी भन्छन्, ‘अहिले आइफोन विभागको जिम्मेवारीमा छु ।’
 
यति कठिन छनौट प्रक्रिया पार गरेर एप्पल नै किन जाने त ? यसमा व्यक्तिपिच्छे आ–आफ्नै अनुभवमा आधारित धारणा हुन सक्लान् ।
 
‘पहिलो कुरा कमाइ नै हो । त्यसपछि जीवनको सन्तुलन आउँछ’, लोहनी भन्छन्, ‘यहाँको काम गर्ने वातावरणले मलाई चुनौती सामना गर्न सिकाएको छ । यो मलाई निकै मनपर्छ ।’ 
 

एप्पलको काम गर्ने कक्ष 

 
स्टिभ जब्सले ४३ वर्षअघि स्थापना गरेको एप्पलका लागि करार, उपकरारमा काम गर्ने नेपाली कति छन्, यकिन गर्न गाह्रो छ । यो संख्या धेरै नै रहेको अनुमान छ । तर यो निश्चित हो कि कम्तिमा ३० जना नेपाली एप्पलमा फरक–फरक भूमिकामा पूर्णकालीन जिम्मेवारीमा काम गरिरहेका छन् ।
 
उनीहरु सबै प्राविधिक विभागमा छन्। आफ्नो क्षेत्रमा गर्व गर्न लायक पद सम्हालिरहेका छन् ।
 
अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्याली विश्वकै प्रविधि राजधानी मानिन्छ। र, प्रविधि विषय अध्ययन गर्ने धेरै युवा प्रोफेसनलहरुका लागि एप्पल, गुगल, फेसबुक सपनाका गन्तव्य हुन्। कतिले त्यो पूरा गर्छन्, कैयौंका हकमा त्यो सपना एउटा मृगतृष्णामै सीमित भइदिन्छ ।
 
सुनिल खनाल एप्पलमा काम गर्ने अर्का नेपाली हुन् । उनी तपाईं हामी मध्ये धेरैले चलाइरहेको आइफोन, म्याबुक अकाउन्टको सुरक्षा हेर्छन्। मसिन लर्निङ इन्जिनियर उनी सिनियर डाटा साइन्टिस्टको भूमिकामा छन् । एप्पलका अनलाइन अकाउण्ट ह्याक गर्न विश्वका खुँखार ह्याकरहरु सधैं प्रयत्नशील रहन्छन्। खनालसहितको टोली त्यस्ता ह्याकरको प्रयास विफल पार्न ड्युटीमा हुन्छ ।
 
‘जोखिमलाई पहिचान गरेपछि त्यस्ता ह्याकरका प्रयासलाई मेसिन लर्निङको सहायताले ब्लक गर्ने काम हुन्छ । ‘यो एउटा प्रविधिक विषय हो तर मलाई रोमाञ्चक लाग्छ,’ खनाल सुनाउँछन् ।
 
खनाल विश्व विख्यात स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक र कोलम्बियाबाट स्नातकोत्तर हुन् । अमेरिकाका यी दुई विश्वविद्यालय पुग्नुअघि नेपालमा उनले बुढानिलकण्ठ स्कूल पढेका थिए ।
 
उनी अमेरिका भित्र र बाहिर आयोजना हुने आर्टि्फिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षासम्बन्धी कन्फरेन्समा एप्पलको प्रतिनिधि बनेर यात्रा गरिहन्छन् । नेपालखबरले केही समयअघि यो रिपोर्ट तयार पार्न कुरा गर्दा उनी क्यानडामा हुने एनआइएक्स कन्फरेन्सको तयारीमा थिए। 
 

एप्पल पार्कको भित्री भाग

 
विश्वको नम्बर वन ब्रान्ड एप्पलको मुख्यालय एप्पल पार्क नामले परिचित छ । ७१ हेक्टरमा फैलिएको एप्पल पार्क कम्पनीका सहसंस्थापक स्टिभ जब्सको भिजन हो। बौद्ध दर्शनबाट प्रभावित उनले आफ्नो कम्पनीको मुख्यालय एउटा कार्यालयभन्दा बढी प्राकृतिक पार्कजस्तो बनाएका छन् । एप्पलसँग कूल १ लाख ३२ हजार कर्मचारी छन् ।
 
ती मध्ये अर्की एक हुन् , नयाँ बानेश्वर काठमाडौंकी अदिती अधिकारी ।
 
अदिती मेसिन लर्निङ इन्जिनियर हुन् । उनी एप्पल म्याप्समा कार्यरत छिन्। विद्यालयमा छँदा दन्त चिकित्सक बन्ने रहर साँचेकी उनको मन पछि डेटा साइन्स, कोडिङ र डेटा माइनिङतिर लाग्यो । त्यसपछि उनको करिअर कम्प्युटरतर्फ मोडियो। सन् २०१७ मा युनिभर्सिटी अफ इलिनोइबाट स्नातक सकेपछि इन्टर्नसीपका लागि उनी एप्पल छिरेकी थिइन् ।
 
‘इन्टर्नसीप नसकिँदै मलाई जागिरको अफर आयो । त्यतिबेला मैले एप्पलबाट जागिरको अपेक्षा गरेकै थिइनँ’, अधिकारीले सुनाइन् ।
 
त्यसो त एप्पल जानुअघि अदितीले सिंगापुरको एउटा रिसर्च कम्पनीका लागि काम गरिन् । त्योभन्दा अगाडि उनले नेपालमै सबैभन्दा धेरै आइटी इन्जिनियरलाई रोजगारी दिने डा. रुद्रराज पाण्डेको डियर वाकमा इन्टर्नसीप गरेकी थिइन् ।
 
नेपालमा आइटीको पूर्वाधार नहुँदा यो विषय पछि परेको उनको बुझाइ छ। ‘कुनै पनि क्षेत्र स्थापित हुन सबैभन्दा पहिला पूर्वाधार जरुरी हुन्छ । नेपालमा आइटीको पूर्वाधार बनाउने काम भएकै छैन’, उनी भन्छिन्, ‘लोडसेडिङ, खानेपानी, खाना पकाउने ग्यासजस्ता विषय नै समस्याको रुपमा छन् ।’
 
एप्पलमै काम गरे पनि सबै नेपालीहरुबीच सधैँ भेटवार्ता हुँदैन। फरक फरक विभाग र ठूलो क्षेत्रफलको कार्यालय भएका कारण को कहाँ हुन्छ र कतिबेला ड्युटीबाट फर्किन्छ टुंगो हुँदैन । कहिले कहीँ उनीहरुलाई नेपालीपन ‘मिस’ हुन्छ त्यसपछि सामूहिक भेटघाट आह्वान गर्छन्। केही समयअघि उनीहरूले यस्तै सामूहिक भेला गरेका थिए ।
 
‘पछिल्लो जमघटमा हामी ३० जना जम्मा भयौं। यो नै अहिलेसम्मको सबैभन्दा बढी संख्या हो’, क्षितिजले भनेहरियालीबीच एप्पल मुख्यालय
 

कति हुन्छ कमाइ?

एप्पलका आकर्षणमध्ये एउटा तलब सुविधा नै हो । यो रिपोर्ट तयार पार्ने क्रममा हामीले कसैसँग पनि तलबसम्बन्धी प्रश्न गरेनौं । यसै पनि निजी विषय सोधखोज गर्नु अमेरिकामा राम्रो मानिँदैन। फेरि एप्पलमा काम गर्नेहरुको तलब सुविधा कतिपय भरपर्दा वेबसाइटहरुले सार्वजनिक गरिरहेका हुन्छन् ।
 
पेशाकर्मीहरुको तलब अनुमान गर्ने र नयाँ भ्याकेन्सी प्रकासित गर्ने वेबसाइट ग्लासडोरअनुसार एप्पलमा काम गर्ने सफ्टवेयर इन्जिनियरको तलब वार्षिक १ लाख २५ हजार डलरदेखि सुरू हुन्छ । २ लाख बढीसम्म पुग्छ। बोनस र अन्य सुविधासहित जोड्दा एप्पलका इन्जिनियरले वर्षको २ लाख ३० हजार डलरसम्म बुझ्छन्। बरिष्ठ मसिन लर्निङ इन्जिनियर जुन पदमा सुनिल खनाल छन् त्यसको तलब वार्षिक २ लाख अमेरिकी डलरबाट सुरू हुन्छ। ३ लाखभन्दा बढी पुग्छ । अमेरिकी मापदण्डमै यो निकै आकर्षक तलब सुविधा हो । (दिनेश कार्कीको रिपोर्ट )