जेठमा मात्रै ४३ हजार युवायुवती विदेशिए !

आषाढ ०५,२०७६

-

असार ५,२०७६ काठमाडौं । 
बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महिनामा ४३ हजार युवा विदेश उडेका छन् ।
 
स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरे पनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए ।
 
वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन् । गत महिना १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागतरुपमा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।
 
सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३८३ पुरुष र ८५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ६१५ पुरुष र २५४ महिला गरी ८६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ । गत महिना एक हजार ४७२ पुरुष र १२३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् ।
 
गत वर्षको सोही अवधिमा ४६ हजार ७१७ पुरुष र दुई हजार ५८२ महिला गरी कूल ४९ हजार २९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष, सीपयुक्त बनाएर पठाउने नीति लिएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको ठूलो सङ्ख्या रहेको छ । 
 
जेठमा २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएका विभागले जनाएको छ । सोही अवधिमा १३ हजार ८०५ पुरुष र ७९८ महिला गरी १४ हजार ६०३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६७८ पुरुष र २८५ महिलासहित तीन हजार ९६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त ६ पुरुष श्रम स्वीकृति लिई विदेश गएका विभागले जनाएको छ ।
 
पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । विभागले यही असार १५ गतेदेखि विभिन्न १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।
 
सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने सरकारको तयारी छ ।
 
व्यक्तिगत ठगीका उजुरीमा वृद्धि
 
गत जेठमा व्यक्तिगत ठगीका ६४ उजुरी विभागमा दर्ता भएका छन् । वैशाखसम्म विभागमा व्यक्तिगत ठगीका कूल ६५७ उजुरी परेका थिए । व्यक्तिगत ठगीतर्फ रु सात करोड ६१ लाख १३ हजार ७५० दाबी गरिएको छ । जेठमा व्यक्तिगत ठगीको ३३ वटा उजुरीका विरुद्ध अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए ।
 
त्यसैगरी विभागमा गत महीनामा १०० वटा संस्थागत उजुरी परेका छन् । संस्थागत उजुरीबापत रु दुई करोड १९ लाख ४१ हजार ८५ दाबी गरिएको छ । 
 
विप्रेषण बीस प्रतिशतले बढ्यो
 
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दश महीनाको अवधिमा विप्रेषण (रेमिट्यान्स) करीब २० प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालू आवको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 
 
बैंकका अनुसार दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।
 
अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९ दशमलव ४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शुन्य दशमलव एक  प्रतिशतले घटेको थियो ।
 
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५ दशमलव ८ प्रतिशतले बढेको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव दुई प्रतिशतले घटेको थियो । रासस