नेताहरू भेट्दै मडुरोका छोरा -

भेनेजुएली युवाको भारतीय नाकाबन्दीमा चासो

आषाढ ३१,२०७६

-

काठमाडौँ ।  नेपाल भ्रमणमा रहेको भेनेजुएलाको टोलीले नेताहरूसँग भेटघाट गरेर चार वर्षअघि भारतले लगाएको नाकाबन्दीका बेला खाद्यान्न र आत्मनिर्भरताका लागि चालिएका कदमबारे जिज्ञासा राखेको छ । नेकपाको युवा संघको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको युवा संगठन जेपीएसयूभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार आएको हो । टोलीमा त्यहाँका राष्ट्रपति निकोलस मडुरो मोरोसका छोरा निकोलस अर्नेस्टो मडुरो गुयरासमेत छन् । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग आइतबार र सोमबार भेटघाट गरेको छ ।
 
भेनेजुएलाको टोलीसँग भएको भेटवार्तामा नाकाबन्दीलगायत विषयमा अनुभव आदानप्रदान भएको नेताहरूले बताएका छन् । अमेरिका लगायतको नाकाबन्दीमा आफ्नो मुलुक परिसकेको उल्लेख गर्दै उनीहरू नेपालको अनुभव काम लाग्ने भन्दै यहाँका नेताहरूसँग जिज्ञासा राखेका थिए । ‘उहाँहरू घुम्न नेपाल आउनुभएको रहेछ । त्यसक्रममा नेताहरूसँग भेट भएको हो । उहाँहरूले नाकाबन्दीका बेला झेलेका समस्या चासो राख्नुभयो,’ आइतबारको भेटमा संलग्न नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘भेनेजुएलाको अर्थतन्त्र कसरी सम्पन्न हुन सक्छ भन्ने विषयमा पनि कुरा भयो ।’
 
नेपाल भ्रमणमा आएका राष्ट्रपतिपुत्र गुयरा विशेष सैनिक फौजका प्रमुखसमेत हुन् । कर्प्स अफ स्पेसल इन्स्पेक्टर्स अफ द प्रेसिडेन्सी नामको सो सैन्य संगठनले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं सुपरिवेक्षण गर्छ । पार्टीमा विशेष भूमिकामा रहेका उनी सांसदसमेत हुन् ।
 
युवा संगठनहरूको आपसी सम्पर्कबाट उनीहरू आएका हुन् । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले युवा आदानप्रदान कार्यक्रमअन्तर्गत भेनेजुएलाको टोली आएको बताए । सापकोटाले नै नेताहरूसँग भेटघाटको समन्वय र सम्पर्क नै गरिरहेका छन् । 
भेनेजुएलाको टोली आइतबार युवा संगठनले आयोजना गरेको छलफल तथा अन्तर्क्रियामा सहभागी भएको थियो । जहाँ नेकपाका वरिष्ठ नेता खनाल प्रमुख अतिथि थिए । अन्तर्क्रियामा नेता खनालले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउँदै कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले सफलतापूर्वक काम गरिरहेको बताएका थिए ।
 
राष्ट्रपतिपुत्र गुयराले भेनेजुएलाले नेपालको कृषिबाट सिक्न चाहेको बताएका थिए । टोलीले आइतबारै नेकपा सचिवालय सदस्य गौतमसँग उनकै निवास भैंसेपाटी र प्रवक्ता श्रेष्ठसँग अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा भेटेको थियो । गौतमसँगको भेटमा समाजवादमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
 
गत वर्षको निर्वाचनमा निकोलस मडुरो राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले मान्यता दिएन । त्यहाँ समानान्तर राष्ट्रपतिका रूपमा हुवा गुइदोलाई अमेरिकाले अगाडि सार्‍यो । यही विवादका कारण भेनेजुएलामा राजनीतिक संकट चुलियो । यसलाई लिएर शक्तिराष्ट्रहरूसमेत विभाजित भए । त्यही सन्दर्भमा कम्युनिस्ट पार्टीको सम्बन्धका हिसाबले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निकोलस माडुरोको पक्षमा नेपालमा विज्ञप्ति जारी गरेका थिए ।
 
अमेरिकालाई साम्राज्यवादीको टिप्पणी गर्दै सत्तारूढ पार्टीको अध्यक्षले विज्ञप्ति जारी गरेपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमै चिसोपन आउने अवस्था बनेको थियो । अध्यक्ष दाहालको वक्तव्य अनपुयुक्त भएको भन्दै पछि सरकारले त्यसलाई केही सच्याउने खालको ‘सफ्ट’ वक्तव्य जारी गरेको थियो । (यो बिषय आजको कान्तिपुर दैनिकमा छापिएको छ ।)