सहकारीमार्फत चक्लाबन्दी गरेर सामूहिक कागती खेती शुरू

श्रावण २०,२०७६

-

साउन २०,२०७६ काठमाडौं।
स्याङ्जामा सहकारीमार्फत चक्लाबन्दी खेती शुरू भएको छ । सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रूपमा कागती खेती गर्न सुरु गरिएको हो । 
 
नेपाल सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’अन्तर्गत थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेड वालिङ स्याङ्जाले एक हजार रोपनी जमिनमा ३० हजार कागतीका बिरुवा रोप्न सुरु गरेको छ । 
 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वालिङमा कागतीका बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 
 
सरकारको सहयोगमा उक्त सहकारीले वालिङ नगरपालिका वडा नं १२, १३, १४ का एक सय ५० किसानका हजार रोपनी जमिनलाई एकीकृत गरी पहिलो चरणमा कागती रोप्‍न सुरु गरेको हो । 
 
कागती खेती पछि तरकारी खेती शुरू गर्ने सहकारीको योजना रहेको बताएको छ । 
 
जमिनको माटो परीक्षण गरेर कागती खेतीका लागि उपयुक्त भएपछि सहकारीले सुन प्रजातिको कागती लगाउन सुरु गरेको छ ।
 
उक्त परियोजनाका लागि साढे दुई करोड रुपैयाँ लाग्‍ने सहकारीले जानकारी दिएको छ । 
 
नमूना कृषि कार्यक्रमका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डले ४८ लाख रुपैयाँ र गण्डकी प्रदेशको भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । 
 
कागती, एभोकाडोसहित ड्रागन फ्रुट, तरकारी खेती पनि गर्ने सहकारीको योजना रहेको छ । कागती खेती फार्मलाई स्रोत केन्द्रको रुपमा विकास गर्ने सहकारीले जनाएको छ ।