माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माणको ३५ प्रतिशत काम सम्पन्न

श्रावण २३,२०७६

-

साउन २३,२०७६ काठमाडौं ।
२०७६ जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको हो ।
 
निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । आयोजनाको ३।८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।
 
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्री बी’ले बाँध, बालुवा थिग्रयाउने पोखरी ९डिसेन्डर० लगायतका संरचना बनाउनु पर्ने छैन । थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।
 
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजना निर्माण कार्यक्रममा चासो दिंदै नियमित रुपमा प्रगतिको जानकारी लिने गर्नुभएको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् । 
 
घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग आयोजनास्थलमै छलफल गरी गुणस्तर र सुरक्षामा विशेष ध्यान दिंदै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन् ।