फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखिदिन पर्यटनमन्त्री भट्टराईको आग्रह

श्रावण २६,२०७६

-

साउन २६,२०७६ काठमाडौं । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
 
भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ-संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।
 
सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आयाम रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले सोही कारण नेपालले भ्रमण वर्ष मनाउन लागेको बताएका छन् ।
 
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ । मन्त्री भट्टराईले विश्वस्तर र नेपालभर प्रचार प्रसारमा सहयोग गर्न संसारभर रहेका नेपालीलाई आह्वान गरेका हुन् ।