आर्थिक वृद्धिद्धरमा १७० देशलाई पछि पार्दै नेपाल टप पोजिशनमा पुगेको दाबी

श्रावण २७,२०७६

-

साउन २७,२०७६ काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन । 
 
उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये १ सय ७० देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरे । 
 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका हुन । 
 
उनले भने,‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ 
 
सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ । 
 
मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु ।
 
हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’
 
उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं ।
 
अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए । 
 
मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताए । 
 
काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउने लगायतका काम हुने उनले जनाएका हुन् ।
 
त्यस्तै, रिङ-रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने बताउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए । 
 
महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे ।
 
विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम भैरहेको उनको भनाई छ ।