भारत सरकारको निर्णयलाई स्वागत गर्दे नेपाल रिपब्लिक पार्टीले भन्यो-‘ऐतिहासिक काम’

श्रावण २८,२०७६

-

 
काठमाडौं ।  नेपाल रिपब्लिक पार्टीले हालै भारत सरकारले गरेको जम्मु–कश्मीरको निर्णयलाई स्वागत गर्दे ऐतिहासिक लोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।
 भारतीय जनता पार्टीको सरकारले आफ्नो देशको संप्रभुताको रक्षा गरेर राष्ट्रिय एकिकरणको कामलाई पुरा गरेको छ, पार्टीका अध्यक्ष सिद्धार्थ गौतमद्धारा काठमाडौंमा जारी बिज्ञप्तिमा भनिएको छ,‘यो धेरै पहिले हुनुपर्ने काम हो, बल्ल साकार भयो ।’ एउटै देशभित्रका बेग्लै झण्डा, संविधान र नेतृत्व कायम रहनु र देश विखण्डनका नारा तथा गतिविधि कुनै पनि मुलुकको लागि सह्य नहुने अध्यक्ष गौतमले बताए । भाजपा र उसको सरकारले आफ्ना जनताप्रति गरेको सबैभन्दा ठुलो राष्ट्रिय निर्णय हो यो, गौतमले आस्थान्युजसंग कुरा गर्दे भने,‘हरेक देशले आफ्नो संप्रभुता रक्षा गर्नु पहिलो दायित्व हो । यो भारतले पुरा गरेर देखाएको छ ।’ फुट परस्तले प्रश्रय पाउनु कुनै पनि संप्रभुता सम्पन्न देशका लागि स्वीकार्य नहुने उनले धारणा ब्यक्त गरे ।
रिपब्लिक पार्टीले बिज्ञप्तिमा भनेको छ ,‘संविधानको धारा ३७० र उपधारा ३५ (ए) को प्रावधान हटाई जम्मू–कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई केन्द्रशासित प्रदेश बनाएको छ । यस ठोस कदमसँगै जम्मू–कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई एउटा नयाँ पहिचान र सम्मान मिलेको छ ।’
भाजपाले लिएको यो कदमको रिपब्लिक पार्टीले समर्थन गर्दे धेरै पहिले भइसक्नुपर्ने यो कार्य दृढतासाथ सम्पन्न गरेकोमा सत्तारुढ भारतीय जनता पार्टीलाई बधाई ज्ञापन गरेको छ ।
No photo description available.
भारत सरकारको यस कदमले भारतलाई यस अवस्थाबाट मुक्त गरेको छ र राष्ट्रिय एकीकरणको कामलाई सच्चा अर्थमा पूर्णता प्रदान गरेको छ । राष्ट्रिय संप्रभुता, अखण्डता र कानूनी राज्यको हिमायती कुनै पनि लोकतान्त्रिक मुलुकले यस कदमको समर्थन गर्नुपर्छ, बिज्ञप्तिमा भनिएको छ ।
अनावश्यक कुरामा लम्बे चौडे वक्तव्य दिएर नथाक्ने नेपालको वर्तमान कम्युनिष्ट सरकारले मित्रराष्ट्र भारतका शत्रुहरूलाई सहयोग पुग्ने गरी यस मामिलामा धारण गरेको मौनता रहस्यमय मात्र होइन, यो मौनताप्रति रिपब्लिक पार्टीले घोर आपत्ति प्रकट गरेको छ । नेपाल सरकारको यो मौनता एउटै देशभित्र दुई बेग्लै झण्डा, फरक संविधान र फरक नेतृत्व तथा देश विखण्डनका गतिविधिको सक्रिय मौन समर्थन रहेको पार्टीले बिज्ञप्तिमा उल्लेख गरेको छ । ‘यस घटनाप्रतिको सरकारी मौनता सत्तारुढ कम्युनिस्ट पार्टीको राष्ट्रघाती, जनविरोधी प्रवृत्तिको मुखर विज्ञापन हो । प्रादेशिक विभेद, साम्प्रदायिकता र राष्ट्रविखण्डनको विपक्षमा उभिने नेपाल सरकारको नैतिक धरातल यसले पूर्णतः ध्वस्त पारेको छ ।’ बिज्ञप्तिमा उल्लेख छ । 
पार्टी अध्यक्ष गौतमद्धारा जारी बिज्ञप्तिमा सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त तथा लोकतन्त्रवादी शक्ति र जनतालाई यसतर्फ सचेत रहन आग्रह गर्दै कम्युनिस्ट नेतृत्वको नेपाल सरकारको यस रवैयाको तीव्र भत्सर्ना गरेका छन् । राष्ट्रिय संप्रभुता र अखण्डताका पक्षधर सम्पूर्ण नेपाली जनता भारत सरकारको कदमको समर्थनमा रहेको स्पष्ट पार्दै यस कदमप्रति हामी जम्मू–कश्मीर र लद्दाखको समेत सम्पूर्ण भारतीय जनताप्रति अध्यक्ष गौतमले बिज्ञप्ति मार्फत बधाई दिएका छन् । नेपाल रिपब्लिक पार्टीले बिगतदेखि नै नेपालको राष्ट्रियताप्रति खरो अडान राख्दै आएको छ । यो पार्टीका संस्थापक अध्यक्ष समेत रहेका गौतमले नेपाल सरकारले गर्ने गलत निर्णयको भण्डाफोर र कडा रुपमा बिरोध गर्दे आएका छन् । खासगरि, बर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारबाट नेपालको राष्ट्रियता माथि खलल पुग्न सक्ने संकेत गर्दे उनले कम्युनिष्ट सरकारले कतै गलत काम र निर्णय त गर्देन भन्नेमा अध्यक्ष गौतमले चिन्ता ब्यक्त गरेका छन् । भारत हाम्रो अत्यन्त मित्र राष्ट्र भएकोले नेपाल सरकारले भारतसंग सधैं सुमधुर सम्बन्ध कायम राख्न नेपाल रिपब्लिक पार्टीले सधैं जोड दिंदै आएको छ ।