एन्टीबडीको मात्रा बढि देखिएपछि प्रधानमन्त्री ओली सिंगापुर गएको स्पष्ट

भाद्र ०५,२०७६

-

भदौ ५,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् ।
 
उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए । 
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे ।
प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो ।
 
उनका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् । 
 
डा. शर्माले सिंगापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए ।
 
उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।