सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको देउवाको आरोप

पार्टीभित्र साथ नपाए एक्लै निर्णय गर्ने चेतावनी :

भाद्र ०६,२०७६

-

भदौ ६,२०७६ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। उनले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने अधिकारसमेत खोस्दै लगेको बताए।
 
‘कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइन्, संबैधानिक आयोगहरुको अधिकार पनि खोसेको छ’ शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, सर्वसत्तावादी कम्युनिष्ट शासन अन्त्यका लागि फेरि एक पटक लडाई लड्ने बेला आएको छ।’
 
उनले जनताको मत पाएर कम्युनिष्टहरु सरकारमा पुग्नु ठूलो विषय नभएको बताउँदै सर्वसत्तावादी कम्युनिष्ट शासन लाद्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताए। ‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो, सभापति देउवाले भने, अब अन्तिम पटक कम्युनिष्ट शासन अन्त्य गर्नका लागि लड्नका लागि सबै तयार हुनुपर्छ।’
 
सभापति देउवाले कम्युनिष्ट सरकारले भ्रष्टाचार र महंगीबाहेक जनतालाई केही दिन नसकेको बताए। जनताको ढाड सेक्ने गरेर कर बढाइएको छ, उपभोक्ता समितिका नाममा कार्यकर्ता पोस्ने काम गरेको छ, भ्रष्टाचारले सीमा नाघेको छ,’ सभापति देउवाले भने, सरकारले जनतालाई राहत मिल्ने केही पनि काम गर्न सकेको छैन्।’
 
देउवाले आफू सभापतिमा निर्वाचित भएदेखि स्वतन्त्रतापूर्वक काम गर्न नपाएको बताए। नजिकै रहेका महामन्त्री सशांक कोइरालातर्फ इंगित गर्दै सभापति देउवाले आफूलाई सहयोग गर्न आग्रह गरे।