रवि लामिछाने पक्राउ प्रकरणःनिश्पक्ष र स्वतन्त्र छानबिन गर्न कलाकारहरुको एक स्वर

भाद्र ०७,२०७६

-

भदौ ७,२०७६ काठमाडौं ।
रवि लामिछाने पक्राउ प्रकरणःनिश्पक्ष र स्वतन्त्र छानबिन गर्न कलाकारहरुको एक स्वर
 
चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे ।
 
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए । 
 
उनले भने,‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । 
 
रिहाईको लागि म आग्रह गर्दछु । तर, मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु । भोलि रविजीको रिहाईको कामना गरौं ।’ उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए । 
 
हामी विधिको शासनमा विश्वास गर्छौं । अहिले रविजीलाई भेट्न ऋषि धमला किन चितवन गएन ? भनेरपनि बहस भएको छ, म चितवन जान तयार छु ।’
 
धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ, तर गलत काम गरेको छ भने दण्डितपनि हुनुुपर्छ ।
 
म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्ने बताए । 
 
हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ ।
 
आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । 
 
संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’
 
उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’
 
अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । 
 
उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । 
उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । 
 
अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । 
 
कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’