सरकारले माग बेवास्ता गरेको भन्दै मेलम्चीको सबै काम ठप्प

भाद्र १९,२०७६

-

भदौ १९, २०७६ काठमाडौं ।
सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ ।
 
यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो ।
 
आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ ।
 
समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो ।
 
दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । ‘हामी हाम्रो मागप्रति कठोर छौं । काम गरेको भुक्तानी पाउनुपर्ने मुख्य माग हो । हामीले दोस्रोपटक आज (बुधबार)बाट फेरि आन्दोलन थाल्यौं’, उनले भने-‘यो वार कि पारको आन्दोलन हो ।’
 
बैंक ग्यारेन्टी २ अर्ब १० करोड, डेढ अर्बको सम्पत्ति सीएमसीको रहेकाले त्यहींबाट ठेकेदारलाई भुक्तानी दिनुपर्ने समितिको माग छ । 
 
निर्माण कम्पनी, स्थानीय भेन्डर, मजदुर गरी १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी लिनुपर्नेछ । स्थानीय भेन्डरको साढे १६ करोड, ८ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपैयाँ रकम भुक्तानी हुनै बाँकी छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ।