उपचार सकेर प्रधानमन्त्री ओली फर्किए, नियमित काम गर्न सक्ने चिकित्सकको जानकारी

भाद्र २०,२०७६

-

भदौ २०,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको निजी चिकित्सकले बताएका छन् ।
 
स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । उनले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन् ।
 
निजी चिकित्सक डा.दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको बताएकी छन् ।
 
विज्ञप्तिमा भनिएको छ,‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ।’
 
प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । २७ साउनमा फर्किएका उनले ट्वीट गर्दै आफू ठीक भएको बताए पनि निजी चिकित्सक वा सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
 
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गरिरहेका छन् ।