विश्वेश्वरप्रसाद कोइरालाको १०६औं जयन्ती मनाइँदै

भाद्र २४,२०७६

-

भदौं २४, २०७६ काठमाडौं । 
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०६ औं जयन्ती मनाइँदैछ ।
 
वीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
 
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
 
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।
 
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
 
पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
 
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
 
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए ।