प्रधानमन्त्री ओलीको निमन्त्रणामा मोदी चाँडै नेपाल आउन इच्छुक

भाद्र २४,२०७६

-

भदौं २४, २०७६ काठमाडौं । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।
 
उनले नेपाल र भारतबीच पारिवारिक र सांस्कृतिक सम्वन्ध रहेको बताए। पछिल्ला वर्षहरुमा उच्च राजनीतिक तहमा नजिकको सम्वन्ध र नियमित सम्पर्क रहेको छ,मोदीले भने, पिपुल्स टु पिपुल्स सम्वन्ध हाम्रो सम्वन्धको आधार हो।
 
उनले पछिल्ला वर्षमा प्रधानमन्त्री केपी ओलीसँग चार पटक भेटेको बताए। विकासको लागि साझेदारीलाई अघि बढाउनु पर्ने उनको भनाई छ। पाइपलाइन निर्धारित समयमा पुरा भएको भन्दै मोदीले खुशी व्यक्त गरे। अपेक्षा भन्दा छिटो यो बनेको छ।
 
 नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट यो सम्भव भएको हो, उनले भने। यसबाट हरेक वर्षा दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ जाने छ। यसले आर्थिकरुपमा समेत बचत हुने उनले बताए। 
 
यो काम नेपालका सामान्य नागरिकको भलाईको लागि हुने मोदीले बताउँदै यसको साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरे। यति भनिरहँदा उनले उनले भूकम्पको विनासलाई पनि सम्झिए।
 
पहिलो चरणमा  सो पाईपलाईनबाट डिजेल ल्याउने काम सुरु गरिएको छ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी-अमलेखगंज पाईप लाईनको दुरी ६९ दशमलव २ किलोमिटर छ । 
 
सो पाईपलाईनबाट दैनिक करिव ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ नेपाल भित्रयाउन सकिने परियोजनाको भनाई छ । सो परियोजनाबाट पेट्रलियम पदार्थ भित्र्ने काम आजैबाट सुरु भएकाले यसको ढुवानीमा हुने खर्च बचत हुनेछ ।
 
नेपाल आयल निगमका अनुसार पाईपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउन थालेपछि नेपाल आयल निगमको वार्षिक दुई अर्व भन्दा बढि ढुवानी खर्च बचत हुनेछ ।
 
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच सो परियोजना अघि बढाउने समझदारी सन् २००४ सालमा भएपनि एक दशकपछि आएर प्रधानमन्त्री ओलीको पालामा यसलाई अघि बढाउन उच्च स्तरीय सहमति गरिएको थियो । 
 
सोही सहमति अनुसार एक वर्ष अघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले सो परियोजनाको संयुक्त रुपमा शिलान्यास गरेका थिए। परियोजनाको लागत २ अर्व ७५ करोड भारतीय रुपैँया रहेको छ ।