सीमामा तारबार लगाएर परिचयपत्रका आधारमा आउजाउ गर्ने व्यवस्था मिलाऔंःपम्फा भुसाल

भाद्र २५,२०७६

-

भदौ २५, २०७६ काठमाडौं। 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भारतसँगको खुला सीमालाई बन्द गरेर परिचयपत्रका आधारमा मात्रै आउजाउ गर्ने व्यवस्था मिलाउनुपर्ने बेला भएको बताएकी छिन् ।
 
बुधबार नागरिकता विधेयक माथिको छलफलका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद भुसालले तत्कालका लागि मिल्ने सबै स्थानमा तारबार गरेर परिचयपत्र हरेर प्रवेश गराउनु उचित हुने बताइन् ।
 
उनले भारतीय सुरक्षाकर्मीले नै सीमा मिच्नका लागि सीमा स्तम्भ सार्ने गरेको दाबी गर्दै सीमा क्षेत्र नजिक नेपाली सेनालाई नै तैनाथ गर्नुपर्ने पनि प्रस्ताव गरिन् ।
 
विवाहित महिलालाई कति समयमा नागरिकता उपलब्ध गराउने भन्ने विषयमा सहमति नजुटिरहेकोबेला सांसद भुसालले भारतीय सीमाना मै तारबार गर्नुपर्ने धारणा अघि सारेकी हुन् ।
 
उनको धारणा सुने पश्चात नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले यो कुटनीतिक मामिला भएकोले तत्कालै सीमा बन्द गर्ने प्रस्ताव गरेर भारतसँगको सम्बन्ध बिगार्न नहुने बताएका थिए ।