क्यान्सर नियन्त्रण कसरी गर्न सकिन्छ ? यसो भन्छन् विज्ञहरु

भाद्र २५,२०७६

-

भदौ २५,२०७६ काठमाडौं । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्रि–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने स्पष्ट पारेका छन् । 
 
बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो बताएका हुन् । 
 
उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन–ऐन २०६८ को प्रभावकारी कार्यान्वयनको लागि तीन तहकै सरकारबीच पनि सहकार्य हुन आवश्यक रहेको सुनाए । 
 
सचिव बरालले सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र सेवनको लागि सरकारले धेरै राम्रा ऐन तथा कानूनहरु ल्याएपनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा केही समस्या अझैपनि देखिएको टिप्पणी गरे । 
 
उनले ऐन कार्यान्वयनको लागि अब सरकारका सबै संयन्त्रहरुबीच समन्वय हुनेपनि विश्वास दिलाए । 
 
त्यस्तै, उनले नसर्ने रोगहरु नियन्त्रणको लागि परिवारदेखिनै सचेतना आवश्यक रहेको औंल्याए । 
 
उनले भने,‘नसर्ने रोगको नियन्त्रणको लागि परिवार नै सचेत हुनुपर्छ । यस्तो भयो भने देशव्यापी रुपमा नसर्ने रोगको नियन्त्रण गर्न सकिन्छ ।’ 
 
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानगेलेयरले नसर्ने रोगहरु विकसित देशहरुमा जटिल रुपमा देखा परेको सुनाए । 
 
नेपालमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिए मुटु, क्यान्सर, दमलगायत विभिन्न रोगहरु नियन्त्रण हुने उनको विश्वास छ । 
उनले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको देख्न र सुन्न पाउँदा निकै खुशी लागेको सुनाए । 
आगामी दिनमा पनि काउन्सिलले यस्ताखाले जनचेतनामूलक कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नुपर्ने उनको आग्रह थियो ।