गिरोहले एभरेष्ट र एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ भारत लगेको खुलासा

भाद्र ३०,२०७६

-

भदौ ३०, २०७६ काठमाडौं ।
अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । 
 
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । 
 
नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । 
 
अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ अवैध रुपमा भारत पुर्याएका हुन् । 
 
ती व्यापारीले बैङ्कका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ । 
 
टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्याइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटक–पटक गरेर भारतीय बैङ्कमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् ।
 
अनुसन्धानको क्रममा उनको नेपालमा कुनै पनि कम्पनी देखिएको छैन । आजको नयाँपत्रिका दैनिकमा खबर छ।