क्रिकेट संघको विवाद साम्य, साधारणसभा असोज दोस्रो साता

भाद्र ३०,२०७६

-

भदौ ३०, २०७६ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ ।
 
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्तामा नयाँ सहमति जुटेको हो ।
 
अब असोज १० र ११ मा विशेष साधारणसभा हुनेछ, जसले क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
 
यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।
 
तर राखेपले आफूसँग अनुमति नलिएको, २१ दिन म्याद नदिएको र निर्वाचन समिति आफूले बनाउनुपर्ने भन्दै अधिवेशन रोक्न निर्देशन दिएको थियो । समाधानको संघारमा पुगेको विवाद बल्झिने अवस्था आएपछि आईसीसीका उपाध्यक्ष ख्वाजा र स्वतन्त्र टोलीमा रहेका शेख नेपाल आएका थिए ।
 
सहमतिअनुसार अब स्वतन्त्र टोलीले क्रिकेट संघको साधारणसभा गर्न राखेपसँग अनुमति माग्नेछ ।
 
यो प्रक्रिया पुरा भएपछि साधारणसभा बोलाएको सार्वजनिक सूचना जारी हुनेछ । निर्वाचन भने आईसीसी प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले नै गराउनेछ ।