महिला तथा बाल स्वास्थ्य सम्बन्धी सिकाई आदान प्रदान

भाद्र ३१,२०७६

-

तेल अभिव सौरस्वी चिकित्सा केन्द्र, धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनले ईजरायली राजदुतावास नेपालको सहकार्यमा महिला तथा बाल स्वास्थ्य सम्बन्धी सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
 
वार्षिक १८ लाख भन्दा बढी विरामीलाई सेवा दिदै आएको सौरस्वी चिकित्सा केन्द्रबाट सेप्टेम्बर ९ तारिक देखि नेपाल भ्रमणमा रहेका प्रसुती तथा स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, तथा रेडियोलोजिस्ट संम्लग्न ५ सदस्यीय चिकित्सक टोलिले कार्यक्रम सम्पन्न गरेका हुन् । 
 
उक्त टोलिल धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनका चिकित्सक तथा कर्मचीसँग स्त्री तथा बाल स्वास्थ्य सम्बन्धी अनुभव आदान प्रदान गरेका छन् । 
 
नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जीवन रक्षा सम्बन्धी नविनतम प्रविधिहरु बारे जानकारी गराउंदै बालरोग एवम् प्रसुती तथा स्त्री रोग सम्बन्धी विभिन्न अत्याधुनिक ईजरायली उपकरणहरु वितरण गरेका थिए । 
 
उपकरणको प्रयोग मार्फत् प्रभावकारी उपचार, विरामीको स्वास्थ्यमा सुधार र आमा÷बच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै भविष्यमा गरिने सहकार्य बारे पनि छलफल भएको थियो । 
 
कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री श्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा ईजरायलले प्राप्त गरेको सफलताबाट नेपाल लगायत विकासोन्मुख देशले फाईदा लिन सक्ने र यस किसिमको सहकार्यको आवश्यकता भविष्यमा पनि रहेको धारणा राख्नुभयो ।