सस्तो भएपछि सुर्खेतका सुपथ पसलमा अर्गानिक सिमी र फापर किन्नेहरुको भीड

भाद्र ३१,२०७६

-

भदौ ३१,२०७६ काठमाडौं । 
चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा सहुलियत दरको सुपथ मुल्य पसल संचालनमा आएको छ । सुपथ मुल्यका पसलमा कर्णालीमा उत्पादन हुने अर्गानिक सिमी र फापर बढी रुचाइएको छ । सर्वसाधारणले अर्गानिक सिमी र फापर बढी खरिद गर्न थालेका हुन् ।
 
नजिकिदै गरेका दसैं, तिहार र छठ पर्वको अवसरमा वीरेन्द्रनगरमा संचालित सहुलियत दरको सुपथ मुल्य पसलमा अर्गानिक सिमी र फापर किन्नेको भीड नै लाग्न थालेको हो । 
 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुर्खेतले गत सोमबारदेखि संचालन गरेको सहुलियत दरको पसलमा चामलदेखि जुम्लाको अर्गानिक सिमी र फापरमा छुट दिएको छ । 
 
अर्गानिक सिमी र फापरको बजार मुल्यभन्दा प्रतिकिलो कम्तिमा ३० रुपैयाँ छुट दिएपछि सहुलियत पसलमा सामान किन्ने उपभोक्ताको भीड बढ्दै गएको हो । 
 
नेपाल खाद्य संस्थान सुर्खेतले संचालन गरेको सहुलियत पसल आउँदो कार्तिक १७ गतेसम्म संचालन हुनेछ ।
 
प्रतिकिलो कम्तिमा एक सय ५० रुपैयाँ बजार मुल्य रहेको अर्गानिक सिमी सहुलियत पसलमा प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यस्तै बजारमा प्रतिकिलो कम्तिमा एक सय ३० रुपैयाँ पर्ने अर्गानिक फापर सहुलियत पसलमा ८० रुपैयाँमा बिक्री भइरहेको छ । 
 
बजार मुल्यभन्दा सस्तो र प्याकेजिङ तथा लेवलिङ गरिएको गुणस्तरीय अर्गानिक सिमी किन्न पाएपछि वीरेन्द्रनगर इत्रामका नविन शाहीले खुसी व्यक्त गरे । उनले भने, ुगरिबले पनि चाडबाडमा मिठोमसिनो खान सक्नुपर्छ, त्यसका लागि सुपथ मुल्य पसल लाभकारी बनेको छ ।ु
 
सहुलियत पसल संचालन भएपछि चाडपर्वमा बजारको महंगी र ठगिनबाट जोगिएको वीरेन्द्रनगरका रत्न परियारले बताए । सहुलियत पसलबाट खाद्य संस्थानको चामलसमेत प्रतिकिलो पाँच रुपैयाँ छुटमा बिक्री भइरहेको छ ।
 
खाद्य संस्थान सुर्खेतका प्रमुख भीम थापाका अनुसार सहुलियत पसलबाट प्रति व्यक्तिले ६ किलो सिमी र एक क्वीन्टल चामल किन्न पाउने व्यवस्था छ ।  एक व्यक्तिले एक पटकमा ६ किलो सिमी र एक क्वीन्टल चामल मात्रै लिन किन्न पाउने उनले बताए ।अन्नपूर्ण