फिलिपिन्समा डेंगुबाट ६२२ जनाको मृत्यु, राष्ट्रिय महामारीको घोषणा

आश्विन ०१,२०७६

-

असोज १,२०७६ काठमाडौं । 
फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ । 
 
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर लाखौँ मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् र पाँच लाखमा अस्पताल नै भर्ना गर्नुपर्नेगरी गम्भीर लक्षण देखा पर्छ भने १२ हजार भन्दा धेरैको यसैकारण मृत्यु हुने गरेको छ । यस्तोमा फिलिपिन्सले गत महिनामा मात्र ४५० जनाको मृत्युपछि डेंगु सम्बन्धी राष्ट्रिय अर्लट घोषणा गरेको थियो ।
 
यस्तोमा एक महिनामै थप दुईसय जनाको मृत्यु भएपछि यसलाई राष्ट्रिय महामारी घोषणा गरिएको हो । सरकारी अधिकारीहरुले केही निश्चित क्षेत्रमा यसको जोखिम बढी रहेको बताएका छन् । यस्तोमा सरकारी निकायहरुलाई यसका जोखिमबारे राम्रो पहिचान गर्न मद्दत गर्नका लागि सो घोषणा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 
 
स्वास्थ्य सचिव फ्रान्सिस्को डोकले आफ्नो बयानमा भनेका छन्, “महामारी घोषित गर्नुले निश्चित क्षेत्रको पत्ता लगाइ त्यही अनुसार स्थानीयहरुले प्रतिक्रिया जनाउन आवश्यक छ । ” 
 
देशका १७ मध्ये सात क्षेत्रमा महामारी घोषणा गरिएको छ जहाँ ४ करोड बढी मानिस अर्थात देशभरका ४० प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । पत्रकार सम्मेलनमा मन्त्रीले प्रति हप्ता ५ हजार भन्दा धेरै डेंगुका घटना भइरहेको बताएका हुन् । गत जुलाइदेखि नै स्वास्थ्य अधिकारीहरुले यस भाइरल संक्रमण फैलनबाट रोक्न सयौँका सङ्ख्यामा डाक्टर र नर्सहरु संक्रमित क्षेत्रमा तैनाथ गराइसकेका छन् र आपत्कालिन कोष पनि प्रदान गराइरहेको छ । 
 
फ्रेन्च कम्पनी सानोफी पेटिओरले २०१६ मा डेंगु नियन्त्रणको पहिलो सुइ, ‘डेङभ्याक्सिया’ निर्माण गरेको थियो जसलाई प्रयोजनका लागि स्वीकृत गर्ने फिलिपिन्स पहिलो एसियाली राष्ट्र बनेको थियो । यसबीच सरकारी खोप कार्यक्रम अन्र्तगत सो औषधि आठ लाख विद्यार्थीहरुमा वितरण गरिएको हो । तर सन् २०१७ मा गएर त्यसले गैर-संक्रमित बिरामीमा अनावश्यक प्रभाव पार्न सक्ने क्लिनिकल परीक्षणमा पत्ता लागेपछि यसको प्रयोमा रोक लगाइएको हो । 
 
सरकारले अझै यसका असर सम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ । यसरी डेंगु महामारीका घटना फिलिपिन्समा हरेक तीनदेखि चार वर्षमा दोहोरिरहने गरेका छन् तर २०१६ यता यसले ठूलो रुप लिँदै गइरहेको पाइएको छ ।
 
गत हप्ता बांग्लादेशमा पनि २४ घण्टामै एकहजार जना मानिसमा डेंगु भेटिएको थियो जसपछि अहिले अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । ती एकहजार जनामा अधिकांश बालबालिका रहेको बताइएको छ ।
 
जनवरीदेखि हालसम्म यसका कारण आठजनाको मृत्यु भइसकेको छ भने १३,६०० भन्दा बढी संक्रमित छन् । जुलाई महिनामा मात्र आठहजार बढी डेंगुका घटना रेर्कड गरिएको हो । सरकारले यसलाई हालसम्मकै भयानक महामारी बताएको छ ।  सीएनएनबाट