नेपाल एयरलाइन्सले आजबाट ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने

आश्विन ०१,२०७६

-

असोज १,२०७६ काठमाडौं । 
नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । 
 
नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
 
छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।
 
यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । 
 
अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।