डेङ्गुबाट नै ज्यान गएको यकिन भएको छैन्ःचिकित्सक

१० हजार जनालाई टोकेमा १ हजारमा डेङ्गु हुने :

आश्विन ०२,२०७६

-

असोज २,२०७६ काठमाडौं ।
देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । 
 
डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गुनै हो भन्ने यकिन नभइसकेको बताए । 
 
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए । 
 
डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए । 
 
उनले भने,‘डेङ्गु नियन्त्रणका लागि तीनै तहको सरकारले आवश्यक कदम चालिसकेको छ । 
 
लामखुट्टेको प्रजातिबाट सर्ने रोग भएकाले त्यस्ता लामखुट्टे बन्न नदिने उपायबारे व्यापक जनचेतना चलाइएको छ ।’ 
 
रोग फैलाउने लामखुट्टे नियन्त्रणको लागि सबैले आ-आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने बताउँदै उनले त्यसमा आम जनसमुदायको साथ हुनुपर्ने बताए ।
 
उनले भने, ‘रोग नियन्त्रण सरकारबाट मात्र सम्भव छैन, सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ डेंगु रोगविरुद्ध सिंगो देश एकजुट हुनुपर्नेमा उनको जोड थियो । 
 
साक्षात्कारमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौं लगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए ।
 
डा. बास्तोलाले डेङ्गुले टोकेको चारदेखि दश दिनमा लक्षण देखापर्ने, १० हजार जनालाई टोकेमा १ हजारमा डेङ्गु हुने र सातदेखि दश दिनसम्म यसका लक्षण शरिरमा रहने, १ हजारमा पनि ५ सयलाई फ्लु हुने, ५ सयलाई डेङ्गु हुने जानकारी दिए । 
 
उनले विरामीको कलेजो, मृगौलामा समस्या देखा परेमा आइसियूमा राखेर उपचार गर्ने गरेको जानकारी गराए । डेङ्गु रोगका कारण मिडियाले भ्रम फैलाएको हुँदा सामान्य विरामीहरु पनि डेङ्गुको डरले अस्पताल जाने गरेको उनको भनाई छ । 
 
सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ डा.जीवनबहादुर शेरचनले पोथी लामखुट्टेले लीड गर्ने क्रममा मानिसलाई टोक्यो भने डेङ्गु रोग लाग्ने बताए । 
 
डेङ्गु रोग पोथी लामखुट्टेले टोक्यो र त्यो लामखुट्टे रोगी भएमात्र मानिसमा यो भाइरल सर्ने हुँदा यसमा धेरै नआत्तिन पनि उनले आग्रह गरे । 
 
लामखुट्टेले  जापानीज इन्सेफेलाइटिस, स्क्रब टाइफस जस्ता रोग सार्ने गरेको उनले सुनाए ।