सप्तरीमा जपाद्धारा संविधान दिवसको विरोध प्रर्दशन

आश्विन ०३,२०७६

-

असोज ३,२०७६ काठमाडौं । 
संविधान दिवसका अवसरमा शुक्रबार सप्तरीमा विरोध र खुसियालीमा विभिन्न कार्यक्रमहरु भए । संविधान संशोधनको मागमा अडिग रहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बिहानैदेखि सदरमुकाम राजविराजसहित जिल्लाका प्रमुख बजार र चौकहरुमा विरोध प्रर्दशन गरे । 
 
बिहानै राजविराजमा भेला भएका राजपाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा कालो झण्डा गाड्दै संविधान संशोधन गर्न दबाब दिए । सरकारी कार्यालयहरुमा गाडिएको कालो झण्डा प्रहरीले भने हटाएको थियो । राजपाका कार्यकर्ताहरु दिउँसो राजविराजमा बृहत प्रर्दशन गरे ।
 
स्थानीय शिव मन्दिर परिसरबाट कालो झण्डासहित निस्केको राजपाका नेता कार्यकर्ताको जुलुस राजविराज परिक्रमा पश्चात स्थानीय नेता चौकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा राजपा नेपालका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले संविधान संशोधनको माग राख्दै मधेसी जनताको अधिकार सुनिश्चत नगरेसम्म असोज ३ गतेलाई कालो दिवसकै रुपमा मनाइरहने बताए ।
 
उता राजपा नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको नेतृत्वमा शुक्रबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का कालो दिवस मनाउने क्रममा मोटरसाइकल र्‍याली निकालिएको थियो ।
 
संविधान जारी भएको दिनको खुसियालीमा भने सरकारी अधिकारीहरुद्धारा शुक्रबार नै राजविराजमा विभिन्न कार्यक्रमहरु गरे । सुरक्षा निकाय, स्थानीय विद्यालयका विद्यार्थीहरु र केही राजनीतिक दलका नेताहरु सम्मिलत जुलुसले बिहानै प्रभातफेरी गर्‍यो । प्रभातफेरीपछि जिल्ला प्रशासन कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।