ईन्द्रजात्राको दिन जबरजस्ती पक्राउ गरिएका धार्मिक अभियन्ताहरु चाँडो रिहाई गर्न माग

आश्विन ०४,२०७६

-

असोज ४,२०७६ काठमाडौं। 
 
विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 
 
त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ । 
 
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ ।
 
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ ।
 
पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए । 
 
समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेत लगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
 
सरकारले वर्तमान संविधान र प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य, मान्यता र ऐन कानुनविपरित नागरिकले बिरोध प्रदर्शन गरेकै आधारमा पक्राऊ गरि नागरिकको मानव अधिकारजस्तो मौलिक हक, वाक स्वतन्त्रता, विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालयमासमेत मानबअधिकार हननको उजुरी दिनेछौँ ।
 
तसर्थ वर्तमान होलीवाइन सरकारले सनातन धर्म र हिन्दु धार्मिक अभियान्ताहरुबिरुद्ध कानुनबिपरित पक्राउ गरि तर्साउने वा धम्क्याउने कुचेष्टा भविष्यका दिनहरुमा समेत नगर्न चेतावनी दिन चाहान्छौँ ।’
 
कार्यक्रममा किर्तीपुर नगरपालिका पूर्व मेयर तथा धर्म, संस्कृति, परम्परा संरक्षण समितिका केन्द्रिय संयोजक ध्रुव महर्जनले धार्मिक अभियन्ताहरुलाई २४ घण्टाभित्र रिहाई नगरे गुठी विद्येयकविरुद्धमा काठमाडौंवासी उर्लिएझैं सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।