‘दादा साहेब फाल्के अवार्ड’ अमिताभ बच्चनलाई प्रदान गरिने

आश्विन ०८,२०७६

-

असोज ८,२०७६ काठमाडौं ।
यसवर्षको ‘दादा साहेब फाल्के अवार्ड’ बलिउड अभिनेता अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ । उनले वर्षौंदेखि भारतीय चलचित्रमा पुर्याउँदै आएको विशेष योगदानलाई कदर गर्दै उक्त अवार्ड दिन लागिएको हो । 
 
केन्द्रीय सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्विटरमार्फत् यो जानकारी दिएका छन् । उनले बच्चनलाई शुभकामना दिँदै भारत र विदेशीहरु पनि उनको लागि खुशी रहेको बताए ।
 
‘दादा साहेब फाल्के अवार्ड’ भारतीय चलचित्रको सर्वोच्च सम्मान हो । सम्मान र शुभकामनाको लागि अमिताभले ट्विटरमार्फत् नै धन्यवाद दिँदै लेखेका छन्, “यो सम्मान र आदरको धन्यवाद दिनको लागि मसँग शब्दको कमी छ । तर म कृतज्ञ छु, आभारी छु । म एक विनम्र अमिताभ बच्चनमात्रै हुँ ।”
 
अमिताभलाई अहिले सामाजिक सञ्जालमा बलिउडकर्मी, राजनीतिक व्यतिm लगायतका उनका शुभचिन्तकहरुको शुभकामनाको ओइरो लागिरहेको छ । सन् १९७० को दशकमा सुरु भएको अमिताभको स्टारडम ७६ वर्ष पुग्दा पनि कम भएको छैन । 
 
बच्चन पद्मश्री, पद्मभूषण आदिबाट पनि सम्मानित भैसकेका छन् । उनलाई फ्रान्स सरकारले सन् २००७ मा सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लिजन अफ अनर’बाट पनि सम्मानित गरेको थियो । 
 
आफ्नो पाँच दशक लामो अभिनय करियरमा उनले अग्निपथ, ब्लाक, पा र पीकू जस्ता चलचित्रमार्फत् चार पटक राष्ट्रिय चलचित्र पुरस्कार पाइसकेका छन् । एजेन्सी