साउदी राजकुमारले पत्रकार जमाल खसोग्गीको हत्याको नैतिक जिम्मेवारी लिने

आश्विन ०९,२०७६

-

असोज ९,२०७६ काठमाडौं ।
साउदी राजकुमार महोम्मद बिन सलमानले पत्रकार जमाल खसोग्गीको हत्याको नैतिक जिम्मेवारी लिने बताएका छन् ।
 
पीबीएस डकुमेन्ट्रीले अर्को साता प्रशारण गर्न लागेको अन्तर्वातामा राजकुमार सलमानले उक्त घटना आफ्नो शासनकालमा भएको उल्लेख गर्दै घटनाको नैतिक जिम्मेवारी लिने बताएका हुन्।
 
पत्रकार खसोग्गीको हत्या प्रकरणमा साउदी राजकुमार सलमानले यसअघि सार्वजनिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन्।
 
अमेरिकी गुप्तचर संस्था सीआईए र पश्चिमेली मुलुकहरुले सलमानकै निर्देशनमा पत्रकार खसोग्गीको हत्या गरिएको दाबी गर्दै आएका थिए। साउदी अधिकारीहरुले उक्त घटनामा राजकुमारको कुनै संलग्नता नरहेको बताउँदै आएका थिए।
 
पीबीएसका मार्टिन स्मिथलाई दिएको अन्तर्वातामा राजकुमार सलमानले भनेका छन्, यो घटना मेरो शासनकालमा भएको छ। र, यसको नैतिक जिम्मेवारी म आफैँ लिन्छु। अन्तवार्ता अक्टोबर १ मा प्रशारण हुँदैछ।
 
अमेरिकामा रहँदै आएका वासिङटन पोस्टका स्तम्भकार खसोग्गी सन् २०१८ को अक्टोबर २ मा इस्तानबुलस्थित साउदी कन्सुलेटमा पसेको केही बेरमै मारिएका थिए।
 
घटनामा संलग्न भएको भन्दै अमेरिकाले साउदी अरबका १७ जनामाथि प्रतिबन्ध लगाएको थियो भने टर्कीले खसोग्गीको हत्या प्रकरणमा राजकुमार मोहम्मद विन सलमानका निकट साउद अल–कहतानी र अहमद असिरीविरुद्ध वारेन्ट जारी गर्न साउदी अरबसँग माग गरेको थियो।
 
साउदीले घटनामा संलग्न भएको भन्दै कहतानी र असिरीलाईबर्खास्त गरेको थियो भने १८ जना पक्राउ गरेको थियो।
 
उक्त घटनामा टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगानले साउदी अरबकै उच्च तहको संलग्नतामा भएको बताउँदै आएका छन्। यस्तैअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गी हत्याबारे गुप्तचर संस्था सीआईएको रिपोर्ट ‘निकै अपरिपक्व’ भएको प्रतिक्रिया दिएका थिए।