तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरूपमा रोक्ने राष्ट्र बैंकको तयारी

आश्विन १३,२०७६

-

असोज १३,२०७६ काठमाडौं । 
नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरूपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो । अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।
 
राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही सुविधा दिइएको छ । गत वर्षभन्दा यो ८ हजार ५ सयले कम हो ।
 
पछिल्ला वर्ष राष्ट्र बैंकले ‘सफा नोट नीति’ कार्यान्वयनमा ल्याएको छ । यो नीतिलाई पूर्णरूपमा कार्यान्वयन गरेपछि नयाँ नोट वितरण बन्द गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यही क्रममा नोट व्यवस्थापनको काममा पनि अटोमेसन (स्वचालित) गर्ने काम सुरु गरिएको उनले बताए ।
कान्तिपुर