ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान

आश्विन १४,२०७६

-

असोज १४,२०७६ काठमाडौं ।
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले मोटरसाइकल पुरस्कार आज (मंगलबार) पाएका छन् । 
 
गत पुस २४ गते सकिएको लिगको व्यक्तिगत विधातर्फ पाउने पुरस्कार एन्फाले दिन ढिलाइ गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो समयपछि उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले पुरस्कारबापतको मोटरसाइकल र ५० हजार नगद प्रदान गरेको छ ।
 
खेलाडीहरुले झन्डै एक वर्षपछि उत्कृष्ट खेलाडी र प्रशिक्षकले पाउने पुरस्कार पाएका हुन् । ए डिभिजन लिगको प्रायोजन अधिकार लिएको रामसार मिडिया प्रालिले सहमति अनुसार मोटरसाइकल उपलब्ध नगराएपछि एन्फा आफैले खेलाडीलाई पुरस्कार दिन बाध्य भएको हो ।
 
लिगमा उत्कृष्ट गोलरक्षक बनेका मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर हेमन गुरुङको पुरस्कार पाउँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार मनाङका सुमन श्रेष्ठले पाएका थिए । 
 
यस्तै उत्कृष्ट डिफेन्डरमा थ्रीस्टारका रेजिन धिमाल र उत्कृष्ट फरवार्डमा आर्मीका भरत खवासले मोटरसाइकल प्राप्त गरेका छन ।