सिमा नाकामा चाडपर्व मनाउन परदेशबाट फर्कने नेपालीहरुको चहलपहल

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
दसैं, तिहार र छठको आगमनसँगै सीमा क्षेत्रमा चहल पहल बढेको छ । केही दिनदेखि बेलहिया नाका हुदै भारतलगायत तेस्रो मुुलुकमा रोजगारी गरी नेपाल फर्किनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो ।
 
रोजगारीका लागि भारतका विभिन्न ठाँउमा रहेका नेपालीहरु दशैं लागेसँगै घर फर्कने क्रम बढेको छ । दशैं मनाउनका लागि दैनिक सयौंको संख्यामा नेपालीहरु सिमा नाका सुनौली हुँदै नेपाल भित्रिने क्रम बढेको हो ।
 
भारतको दिल्ली, मुम्बई, कश्मीर, हरियाणा, भोपाल, कानपुर, लखनऊ, इलाहाबादलगायतका शहरमा रोजगारीका लागि गएकाहरु बालबच्चा र परिवारका साथ दशैं मनाउन सुनौली नाका हुँदै घर आउने गरेका छन् ।
 
रोजगारी गर्नेमात्रै होइन, भारतका विभिन्न स्थानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको आगमन पनि अहिले बढ्दो छ । विगतका बर्षहरुमा भारतबाट आउने क्रममा विभिन्न ठाँउमा लुटपाट लगायतका घटना घटे पनि यस पटक भने यस्ता घटनामा केही कमी आएको सीमा प्रहरीले दावी गरेको छ । तर यात्रुहरुको गुनासा भने उस्तै छ । 
 
यता, इलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक कमल बेलबासे भने छिटपुट घटनाबाहेक सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत रहेको दावी गर्छन् ।
 
चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको पनि घुइँचो लाग्ने गरेको छ । घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चौबीसै घण्टा चहलपहल बढेको छ । 
 
चाडपर्वका बेला भित्रिएका यात्रुलाई समस्या हुन नदिन र सहयोग गर्न नेपाल-भारत सिमा नाकाको दशगजामा सशस्त्र प्रहरीको सहकार्यमा संयुक्त सहायता कक्ष तथा भैरहवा भन्सार कार्यालय परिसर अगाडि नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।  
 
भैरहवा, बुटवल, मणिग्राम, मंगलापुर, शंकरनगरलगायत रूपन्देही जिल्लावासी र पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाटदेखि दसैंका लागि सामान खरिद गर्न सुनौली जाने नेपाली उपभोक्ता हजारौंको संख्यामा छन् ।