झापामा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो।
 
एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (बिहीबारको विनियम दर अनुसार ६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ। 
 
सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले पार्क शुभारम्भ समारोहमा बताए।
 
राजधानीमा बिहीबार एक कार्यक्रम आयोजना गरी पार्क निर्माण सुरु भएको घोषणा गरिएको हो।
 
औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
 
यो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ। ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो।
 
शुभारम्भ समारोहमा औद्योगिक पार्कका अध्यक्ष थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए। 
 
उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए। उनले भने, नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो। अब दमकमै नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्नलायक विकासको मोडल तयार हुनेछ।’
 
चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए। 
 
उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दसौं हजारले रोजगारी पाउने बताए। औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए।
 
लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए।
 
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए। नेपालमा पिपिपी मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पिपिपी मोडलको पहिलो गैरजलविद्युत् आयोजना भएको जानकारी दिए।
 
पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी रहनेछ। साउन तेस्रो साता लगानी बोर्डले औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन चिनियाँ लगानीकर्तालाई अनुमति दिएको थियो। बोर्डले कम्पनीको ६४ अर्ब लगानी स्वीकृत गरेको थियो।
 
उक्त औद्योगिक पार्कमा विदेशी लगानीका उद्योगलाई आकर्षित गर्ने योजना छ। स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको छ।