राज्यले दिएको दसैं खर्चले एक छाक खान पनि नपुग्ने चितवनका कैदीबन्दीको गुनासो !

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।
 
उनीहरुका लागि राज्यले दसैं खर्च भनेर ३०० रुपैयाँ प्रतिव्यक्ति दिने गरेको छ। राज्यले दिने ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ।
 
विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले आफूहरुलाई एक छाक मीठो मसिनो खान पनि नपुग्ने गुनासो गरे। उनले भने “महङ्गी बढेको छ, राज्यले लामो समयदेखि कैदीबन्दीको दशैँमा दिने खर्च बढाएको छैन, यसले के किन्नु र के खानु रु” यस्तै गुनासो विगत सात वर्षदेखि कैद सजाय भोग्दै आउनुभएका पदमबहादुर प्रजा पनि गर्नुहुन्छ।
 
राज्यले अहिलेको महङ्गीअनुसार कैदीबन्दीको दशैँ खर्च पनि बढाउनुपर्ने उनको भनाइ छ। उनले भने, “एक किलो कुखुराको मासुलाई रु ३२० पर्छ, हामीलाई दशैँ खर्च ३०० आउँछ। यसले के गर्ने रु” कारागारमा रहेका सबै जना मिलेर हुनेले धेरै र नहुनेले थोरै रकम जम्मा गरी दशैँ मनाउँदै आएका उनको गुनासो छ। विगत आठ वर्षदेखि कैद जीवन बिताउँदै आएका अमृत गुरुङलाई दशैँ कसरी के गरेर मनाउने भन्ने पिरलो छ।
 
मुख्य नाइकेको जिम्मामा काम गर्दै आएका गुरुङभित्र रहेका सबैलाई खुशी बनाउने भन्दै दौडधूपमा छन्। राज्यले व्यवस्था गरेको रकमले टीका थाप्न आउनेलाई टेन्ट राख्ने र टीकाका सामग्री जुटाउनमा नै खर्च हुने उनको भनाइ छ। अहिले कारागार प्रशासन, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कैदीबन्दीको आन्तरिक व्यवस्थापनले कैदीबन्दीलाई रमाइलो गरी दशैँ मनाउन सहयोग गरिरहेका छन्। दशैँका लागि आवश्यक खाद्यवस्तुको बन्दोबस्त भइसकेको गुरुङले जानकारी दिए।
 
कार्यालयमा फूलपातीदेखि दशैँ लाग्ने गर्दछ। फूलतापतीका दिन सबै मिलेर रमाइलोका साथ फूलपाती भित्र्याउने र राँगा काट्ने गरिन्छ भने अष्टमीमा खसी र कुखुरा काट्ने गरिन्छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले राज्यले दिएको सिदाबाहेकको दशैँ खर्चले कैदीलाई केहीमात्रामा राहत भएको भए पनि पूर्ण भने नभएको बताए।
 
उनीहरुबाटै रकम सङ्कलन गरेर आन्तरिकरुपमा व्यवस्थापन गरी दशैँमा कैदी तथा बन्दीको दशैँ भने राम्रो हुने उनको भनाइ छ। दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा ७६२ कैदीबन्दी छन्। तीमध्ये ६८ जना महिला र ६९१ पुरुष कैदीबन्दी छन्। कारागारमा आमासँगै तीन नाबालक छन्।रासस