नयाँ भवन बनेपछि धारापानी माविका विद्यार्थी खुसी

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
४ वर्ष देखि त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका गोरखा धारापानी मावि आरुबोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् । 
 
बुधवार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीनतले १२ कोठे र दुई तले ४ कोठे गरी १६ कोठेनयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । 
 
२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवन भत्काएपछि विद्यार्थीहरु टिनले छाएको र त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । 
 
अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु बुधवार नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र विनम्र खनालले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए ।
 
छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनको भनाइ थियो ।
 
यस्तै विद्यालयकी छात्रा सपना गुरुङले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । 
 
पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे–गुरुङले भनिन्, अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन । 
 
कक्षा ५ की छात्रा अमृता विकले त्रिपालको छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् । 
 
१८ महिनामा निर्माण हुने गरी गतर्ष असोज ५ गते जग खन्न शुरु भएको भवन १३ महिनामा नै पूर्ण भएको हो । एक भव्य कार्यक्रमका बीज असोज १५ गते बुधवार विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
 
शुरुमा लुम्विनी खानीदेविका प्रतिनिधि एवं शोभित निर्माण सेवाका प्रोपाइटर बुद्धिप्रसाद श्रेष्ठले निर्माण गरिएको भवनको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्र र इञ्जिनियर बाबुराम देवकोटालाई हस्तान्तरण गरेका थिए ।