राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्धारा राजीनामा

आश्विन २८,२०७६

-

असोज २८,२०७६ काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । 
 
नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका छन् ।
 
राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्- नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।
 
नेपाली क्रिकेट अघि बढोस् भन्ने मेरो चाहना हो !
राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले कप्तानको भूमिकामा जो आए पनि नेपाली क्रिकेटको जित हुनुपर्ने बताएका छन् ।
 
राजीनामा घोषणापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै पारसले उनले आफू कप्तान नरहे पनि टोलीको प्रदर्शन अहिलेकै अवस्थामा रहने विश्वास व्यक्त गरे । 
 
उनले खेलाडी र समर्थकको मायाका कारण सफल खेलाडीका रुपमा चिनिनु नै आफ्ना लागि विशेष रहेको बताए । “लक्ष्य नै थिएन क्रिकेट खेल्ने । भाग्यले साथ दिएर यहाँसम्म आएँ । पाएका अवसर सदुपयोग गरेँ अनि सफल भएँ । यो सबै परिवार, समर्थक र खेलाडीको सहयोग हो,” पारसले भने । 
 
उनले क्यानको निलम्बन फुकुवासँगै नयाँ ढंगले नेपाली क्रिकेट चलोस् भन्ने चाहनाले राजीनामा दिएको उल्लेख गरे । “क्यानमाथिको निलम्बन फुकुवामा मैले पनि आफ्नो तर्फबाट सहयोग गरेँ । फुकुवासँगै नेपाली क्रिकेट अघि बढोस् भन्ने मेरो चाहना हो । त्यही भएर मैले राजीनामाको निर्णय गरेको हुँ,” पारसले भने । 
 
नयाँ नेतृत्वसँग ट्युनिङ नमिल्ने भएपछि राजीनामा दिनुभएको होरु भन्ने प्रश्नमा पारसले भने,“नयाँ नेतृत्वसँग मेरो कुनै कुराकानी भएको छैन । क्यान निलम्बन भएदेखि नै उहाँहरुसँग मेरो संवाद भएको छैन । ट्युनिङ भन्दा पनि म एकजनाको कारण क्रिकेट नराम्रो नहोस् भन्ने चाहन्न । ट्युनिङ नमिल्ने भन्ने होइन ।”
 
पारसले अबको एक वर्ष कप्तानका रुपमा ज्ञानेन्द्र मल्लले जिम्मेवारी पाउनुपर्नेतर्फ संकेत गरे । तर कप्तानीको निर्णय प्रशिक्षक र क्यानले गर्ने उनको भनाइ छ ।