२५ लाख रुपैयाँ बराबरमा नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने

त्रिवि शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण:

कार्तिक ०२,२०७६

-

कात्तिक २, २०७६  काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तेस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ ।
 
शुक्रबार बेलुकी रुपन्देहीका ५० वर्षका बुबालाई २७ वर्षका छोराको कलेजो प्रत्यारोपण गरिएको प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिनुभयो । 
 
यसअघि जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो ।
 
अब कलेजो प्रत्यारोपण बिस्तारै नियमित बनाउने योजना रहेको उहाँले बताउनुभयो । नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारीको भनाइ छ ।
 
यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ ।
 
कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनुभयो । 
 
यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । केही समयअघि मात्रै चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।