देशभर अघिल्लो वर्षभन्दा चाँडै चिसो बढेको मापन

कार्तिक ०४,२०७६

-

कात्तिक ४, २०७६  काठमाडौं ।
 
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । 
 
 
मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।
 
‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’
 
‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले राजधानीलाई बताए । 
 
केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।