प्रधानमन्त्री ओली र प्रचण्ड बीच कुनै असमझदारी नरहेको दाबी

कार्तिक ०५,२०७६

-

कार्तिक ५,२०७६ काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच कुनै असमझदारी नरहेको दाबी गरेका छन् । 
 
कार्यकर्ता प्रशिक्षणकालागि पाँचथर सदरमुकाम फिदिम पुगेका दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मीडियामा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे ।
 
उनले हिजो मात्रै प्रधानमन्त्री र आफूबीच दुई घण्टासम्म बसेर छलफल भएको पनि प्रष्ट्याए ।
 
पार्टी एकताका बेला भएको समझदारी अनुसार नै पार्टी अघि बढिरहेको बताउँदै दाहालले भने, ‘पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन नभएको भए पार्टी यो अवस्थामा आउनै सक्दैन थियो ।’
 
मन्त्रीमण्डल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उनले चाहेकोबेला परिवर्तन हुने दाहालले प्रष्ट पारे । ‘यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, उहाँले जतिबेला चाहनुहुन्छ त्यतिबेला परिवर्तन हुन्छ,’ दाहालले भने । 
 
वर्तमान सरकारले छिमेक देशहरुसँगको सम्बन्ध मजबुत बनाउँदै लगेको दाबी गर्दै दाहालले यसको उदाहरण चिनका राष्ट्रपतिको भ्रमण र भारतको अमलेखगञ्ज पेट्रोललाइन विस्तार भएको दाबी गरे ।
 
२५ वर्षपछि चीनका राष्ट्रपति सि चिनफिङको सफल भ्रमण हुनु र भारतबाट नेपालमा सिधै पेट्रोललाइन विस्तार हुनुले दुई देशको सम्बन्धलाइ थप राम्रो बनाएको दाहालको दाबी छ । ‘चीनका राष्ट्रपतिको भ्रमण सरकारको उल्लेखनिय कार्य हो,’ दाहालले थपे, भारतसँगको सम्बन्ध बिस्तारै राम्रो भएको छ,’ ।
 
सत्ता र प्रतिपक्षबीच पनि कुनै असमझदारी नरहेको प्रष्ट्याउँदै दाहालले शान्ति प्रकृयाको काम टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् । सत्ता र प्रतिपक्षका बीचमा समझदारीका साथ मुद्दाहरु टुंगिने दाहालले बताए । उनले सरकार अब समृद्धिको दिशामा अघि बढेको बताए ।
 
प्रशिक्षणकालागि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य सुवास नेम्वाङ पनि फिदिम पुगेका छन् । प्रशिक्षणकालागि ताप्लेजुङ जिल्लाका पार्टी नेताहरु फिदिम पुगेका छन् । स्थानिय तहमा हुनलागेको उपनिर्वाचनका विषयमापनि छलफल हुने नेकपा नेताहरुले बताएका छन् ।
 
पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुइ वडाध्यक्ष पदकालागि निर्वाचन हुँदैछ ।