जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी

कार्तिक ०५,२०७६

-

कार्तिक ५,२०७६ काठमाडौं ।
जापानका सम्राट नारुहितोले औपचारिक रुपमा राजगद्दी सम्हालेका छन् । मंगलबार एक भव्य समारोहमा परम्परागत विधि पूरा गरी उनले राजगद्दी सम्हालेका हुन् ।
 
पिता अकिहितोले गत बैशाखमा राजगद्दी त्यागेपछि उनका ५९ वर्षीय छोरा नारुहितो नयाँ सम्राट बनेका थिए । पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा सहभागी थिए ।
 
नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजगद्दी आरोहण समारोहमा सहभागी भएकी छन् ।
 
शोभायात्रा गरिएन
 
राजगद्दी आरोहणको अवसर गरिने शोभायात्रा भने यसपटक भएन । जापानमा आएको समुद्री आँधी हगिबिसका कारण ठूलो जनधनको क्षति भएको शोकमा शोभायात्रा ननिकालिएको हो ।
 
नारुहितोले परम्परागत बस्त्र धारण गरेर साढे छ मिटर अग्लो ‘ताकामिकुरा’ भनिने राजगद्दीमा बसेका थिए । त्यहीँबाट उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा जिम्मेवारी वहन गर्ने शपथ लिएका थिए ।
 
यसैगरी प्रधानमन्त्री शिन्जो आबेले समारोहलाई सम्बोधन गर्दै सम्राट नारुहितोप्रति बधाई ज्ञापन गरेका थिए । समारोहमा सहभागीहरुले सम्राट नारुहितोको जयजयकार गर्दै चिरायूको कामना गरेका थिए ।
 
जापानमा संवैधानिक राजतन्त्र छ । राजा आलंकारिक भूमिकामा हुन्छन् ।