नेपाल र इयू संयुक्त बैठकः आर्थिक लगानीको विषयमा छलफल

कार्तिक २२,२०७६

-

कार्तिक २२,२०७६ काठमाडौं ।
नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ। हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौमा भएको हो। 
 
बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गरेका छन् भने युरोपेली संघको तर्फबाट एशिया-प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
 
बैठकमा मुख्यगरी युरोपेली संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ। यसका साथै युरोपेली संघले विश्वब्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धी नेपालमा हुँदै आएको कार्यक्रमको मूल्यांकन पनि गरिनेछ।
 
युरोपेली संघले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको व्यापार-वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा संचालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ। 
 
नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सङ्घले नेपालको आर्थिक एवं सामाजिक विकाशको क्षेत्रमा सहयोग गर्दै आएको छ।
 
संघले यसका अलावा नेपालको राजनीति र विकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ र यो सधैं चर्चा र बिबादित बन्ने गरेको छ।  पारस्परिक लाभका विषयमा सहयोग आदान प्रदान गर्न १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो।
 
यसको प्रधान कार्यालय ब्रसेल्समा रहेको छ। अर्को दुई वर्ष पछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्ने छ।