तीन दिवसीय श्रेणी क्रिकेटमा नेपाल एमसीसीसँग २०८ रनले पराजित

कार्तिक २२,२०७६

-

कार्तिक २२,२०७६ काठमाडौं ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिनको खेलको अन्तिम सत्रमा ३ सय ९३ रनको लक्ष्य लिएर आएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।
 
चौध वर्षपछि मान्यता प्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । आउट हुने अन्तिम ब्याट्सम्यान उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए । पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप २५ रनमा एलबीडब्लु आउट भए ।
 
कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९, करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाएका थिए ।
 
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् । नेपालबाट ६ खेलाडी एलबीडब्लु आउट भएका थिए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए ।
 
यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको थियो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।
 
एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३,३ विकेट लिएका थिए । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।