अफगानिस्तानविरुद्ध वेष्ट इण्डिज ४७ रनले विजयी

कार्तिक २४,२०७६

-

कात्तिक २४,२०७६ काठमाडौं । 
अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजले ४७ रनको विजय हासिल गरेको छ । पहिलो खेल पनि जितेको क्यारेवियन टोलीले तीन एकदिवसीय शृंखला आफ्नो पक्षमा समेत पारेको छ । 
 
भारतको लखनउमा भएको खेलमा मध्यक्रमका निकोलास पूरनको अर्धशतकीय पारीको मद्धतमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रनको योगफल खडा गरेको थियो । 
 
पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७  चौका र ३ छक्का प्रहार गरे । उनका अलावा ओपनर इभिन लेभिसले पनि ५४ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर साइ होपले ४३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ९८ रनको सानदार साझेदारीसमेत गरेका थिए । धर्मराएको मध्यक्रमलाई सम्हालेका पूरन खेलको म्यान अफ द म्याचसमेत बने । अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिए ।
 
जवाफमा अफगानिस्तान ४५.४ ओभरमा २ सय रनमै समेटियो । उसका लागि मध्यक्रममा नाजिमुल्लाह जदरानले ५६ रनको सानदार अर्धशतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिएनन् । रहमत साहले ३३ र मोहम्मद नावीले ३२ रन जोडेका थिए । 
 
अफगानिस्तानको पारी कमजोर बनाउन वेष्ट इण्डिजका सेल्डन कोट्रेल, जेसन होल्डर र हेडन वाल्सले समान ३-३ विकेट लिए । तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।