विश्वभर अपर्याप्त निद्राले महामारी, सबैभन्दा धेरै डाक्टर र प्रहरी निद्राबाट बञ्चित

कार्तिक २६,२०७६

-

कात्तिक २६,२०७६ काठमाडौं ।
पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर र पुलिस अधिकारीहरु निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । 
 
जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । 
 
राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । 
 
जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा आबद्ध ४५ प्रतिशतमा पनि सो समस्या व्यापक रहेको बताइएको छ । यिनै पेशाले जनताको सुरक्षाका निम्ति उल्लेखनीय भूमिका खेल्ने गरेको हुँदा नतिजालाई चिन्ताजनक मानिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।  
 
 
विशेषगरी स्वास्थ्य क्षेत्रमा थकानले ठूलो दुर्घटना निम्त्याउन सक्छ । क्यानडियन मेडिकल असोसिएसन जर्नलमा सञ्चालित २०११ को एक अध्ययनमा शल्यक्रिया गरिरहेका चिकित्सकले अघिल्लो दिन ६ घण्टा भन्दा कम सुतेको भएमा अपरेशन जटिल हुने उच्च जोखिम हुने गरेको पत्ता लगाएको हो ।
 
बल स्टेट युनिभर्सिटीका स्वास्थ्य प्रोफेसर जगदिश कुबचन्दनीका अनुसार पुलिस अधिकारीहरुले पनि विशेष रुपमा राति सुत्नमा कठिनाइ हुने गरेको बताउने गरेका छन् । पुलिस अधिकारीहरु देीनक खतरनाक परिस्थितिको सामना गर्नुपर्ने हुँदा तनावका कारण पनि उनीहरुलाई निद्रा पुर्याउन समस्या हुनेगरेको उनी बताउँछन् । 
 
यता चिकित्सकहरुले नै अपूरा निद्राको अर्थ चोटपटकको बढी सम्भावना, उत्पादकत्वमा कमी, समय अगावै मृत्यु भनि व्याख्या गर्ने गरेका छन् । यसका साथै थुप्रै अनुसन्धानहरुले पनि अपूरो निद्रालाई शारीरिक एवम् मानसिक रोग जस्तै मधुमेह, ह्दय सम्बन्धी समस्या, तनाव, चिन्तासँग जोड्ने गरेका छन् ।
 
२०१९ मै गरिएको एक अनुसन्धानले अधुरो निद्राको परिणाम स्वरुप वार्षिक ४११ अर्ब डलर बराबर आर्थिक घाटा हुने गरेको देखाएको हो । सात घण्टा भन्दा कम सुत्नने बित्तिकै हामीले स्वास्थ्य र शरीरलाई गम्भीर जोखिममा पारिरहेकाबारे सधैँ सचेत रहनुपर्ने जगदिश बताउँछन् ।