बंगलादेशका राष्ट्रपति र नेपालका उच्च अधिकारीबीच आज महत्वपूर्ण भेटघाट

कार्तिक २७,२०७६

-

कात्तिक २७, २०७६ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका सबैजसो महत्वपूर्ण भेटघाट भ्रमणको दोस्रो दिन आज बुधबारका लागि तय  गरिएका छन् । मंगलबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गरेका थिए ।
 
उनले हिजै भक्तपुरको अवलोकन भ्रमण गर्नुका साथै नेपालका लागि बंगलादेशका राजदूतद्वारा आयोजित स्वागत समारोहमा सहभागिता जनाएका थिए । आज बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उनीसँग भेट गर्दैछन् भने ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई भेट्नेछन् । त्यसपछि २ बजेबाट २ः१५ बजे सम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम रहेको छ । 
 
२ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपति समक्ष शिष्टाचार भेट गर्नेछन् । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्याक्रम रहेको छ । 
 
४ बजे बंगलादेशका राष्ट्रपति शितल निवासका लागि प्रस्थान गर्नेछन् । ४ः३० देखि ५ बजेसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बैठक  गर्नेछन् । 
 
५ बजेर १५ मिनेट जाँदा उनी म्यारिएट होटलमा फर्कनेछन् । ६ बजेर १५ मिनेट जाँदा उनको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नेछन् । ६ः३० बजेबाट ९ बजे सम्म रात्रिभोजको कार्यक्रम रहेको छ । उनी ९ बजेर १० मिनेटमा होटल म्यारिएट पुग्नेछन् ।
 
बंगलादेशसँग नेपालको सम्बन्ध
 
बंगलादेश नेपाल जस्तै अती कम विकसित मुलुकका रुपमा रहेपनि पछिल्लो समयमा उसको आर्थिक विकासले फड्को मार्न थालेपछि ‘न्यू एशियन टाइगर’ समेत भन्न थालिएको छ ।  नेपाल र बंगलादेशको ८ अप्रिल १९७२मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । 
 
नेपाल बंगलादेशलाई मान्यता दिने सातौं राष्ट्र पनि हो ।  बंगलादेशले मेडिसिन र इन्जिनियरिङ्गमा हरेक वर्ष नेपाली विद्यार्थीलाई सिट उपलब्ध गराउँदै आएको छ । 
 
सन् २०१५ को भूकम्पपछि मानवीय सहयोग समेत उसले गरेको थियो । अति कम विकसित मुलुक भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाल र बंगलादेशको समान चासो रहँदै आएको छ । दुई देशबीच विदेशसचिव स्तरीय संयन्त्र समेत सन् २०१२मा स्थापना भएको छ । 
 
सो संयन्त्रको सन् २०१७ मा दोस्रो चरणको परामर्श बैठक बसेको थियो । दुई देशबीच व्यापारको राम्रो सम्बन्ध रहेको छ । काँकरभिट्टा–फुलबारी–बंगलाबन्ध ट्रान्जिट रुट १९९७ मा खुलेको हो । बंगलादेशले नेपाललाई मंगला बन्दरगाह समेत चलाउन अनुमति दिएको छ । नेपाललाई बंगलादेशले रोहनपुर—सिंहवादको रेल ट्रान्जिट कोरिडोरसमेत प्रयोग गर्न दिएको छ ।
 
१९७८ मा स्थापित नेपाल–बंगलादेश संयुक्त आयोगको बैठकपनि चलिरहेको छ । बैंकिङ्ग, फाइनान्स, इन्सुरेन्स, तयारी पोशाक, छालाको सामग्री, फर्मास्युटिकल्स र पीभीसी पाइपको क्षेत्रमा पनि दुई देशबीच संयुक्त लगानीको प्रयास भइरहेको जनाइएको छ । यसैगरी उर्जा आदानप्रदान सम्बन्धमा पनि दुई देशका अधिकारीहरुबीच पटक पटक वार्ता भएका छन् ।