बंगलादेशका राष्ट्रपतिसँग प्रचण्ड र राष्ट्रियसभा अध्यक्षले भेट गरे

कार्तिक २७,२०७६

-

कात्तिक २७,२०७६काठमाडौं ।
चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
 
बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
 
प्रचण्ड नेपाली प्रतिनिधि मण्डलका तर्फबाट भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालसहित होटेल मेरियट पुगेका थिए।
 
यसअघि हमिदले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेका थिए।
 
राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो।
 
भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताउनुभयो।
 
राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गर्नुभयो।
 
त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदन(प्रदान गर्नुपर्ने बताउँदै उहाँले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गर्नुभयो।
 
उहाँले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राख्नुभयो।
 
एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
 
भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताउनुभयो। उहाँले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।
 
उहाँले नेपाल राजनीतिक मुद्दा समधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गर्नुभयो।
 
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।
 
राष्ट्रपति हमिदले नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।