सम्पदा संरक्षणको ख्याल नगर्दा ऐतिहासिक सिन्धुलीगढी सङ्कटमा

कार्तिक २८,२०७६

-

कात्तिक २८,२०७६ काठमाडौं ।
पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।
 
गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातत्त्वविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् । 
 
सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा. दिनेशराज पन्तले भने, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । 
 
ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उनले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताए ।
 
उनले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताए। आजको गोरखापत्र दैनिकमा खबर छ।