बालबालिकाको मृत्युको कारण निमोनिया,१७ लाख बालबालिकालाई श्वासप्रश्वासको समस्या

कार्तिक २९,२०७६

-

कात्तिक २९,२०७६ काठमाडौं ।

पाँच वर्षमुनिका बालबालिकाहरुमा हुने मृत्युमा नेपालमा तीन प्रतिशत निमोनियाका कारण हुने गरेको पाइएको छ । सन् २०१७ मा विश्वभरमा आठ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ ।

नेपालमा पाँच वर्ष मुनीका बालबालिका करिब ३० लाख छन् । जसमा १७ लाख बालबालिकाहरुलाई श्वासप्रश्वासको समस्यालगायत निमोनियाको समस्या देखिने  स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । 

 
“निमोनिया पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण मानिन्छ,” उनले भने, “विभिन्न अस्पतालमा निमोनिया भएका बिरामी एक हजार दुई सय जना भर्ना भएका छन् । जसमा तीन सय बालबालिकाहरुको निमोनियाको कारण मृत्यु भएको छ ।”
 
एकजना बाल-बालिकामा निमोनियाका कारण १ सय १६ डलर खर्च हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कम आय भएका देशहरुका करिब ४८ प्रतिशत बालबालिकाहरुको मृत्यु निमोनियाका कारण हुने गरेको जनाएको छ । सरकारले ११ खोपमा चार अर्ब खर्च गर्ने गरेको छ । सन् २०३० सम्ममा विश्वभरी एक करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।
 
सन् २०१७ को तथ्यायंक अनुसार विश्वभर पाँच वर्षमुनिका बालबालिकाहरुको १५ प्रतिशत मत्युको प्रमुख कारण निमोनिया रहेको छ । जसमा आठ लाख आठ हजार ६ सय ९४ जना बालबालिकाहरु रहेको बताइन्छ ।