सरकारले सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न नसकेको कांग्रेसको आरोप

कार्तिक २९,२०७६

-

कात्तिक २९,२०७६ काठमाडौं ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न नसकेको आरोप नेपाली कांग्रेससम्बद्ध मजदुरहरुले लगाएका छन् ।
 
शुक्रबार काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर-३ को प्रथम परिषद् समारोहमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
 
सामाजिक सुरक्षा कोषका नाममा सरकारले भ्रम फैलाएको उनीहरुको भनाइ थियो ।
 
दुईतिहाइको दम्भमा आफ्नालाई च्यापेर विभेदसमेत गरेको भन्दै उनीहरुले सबै मजदुरहरु एक हुनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्टले मजदुर र गरिबीको कुरा गरेर सत्तामा आइ आफैं मालिक बनिरहेको र देश उल्टो दिशातर्फ उन्मुख भएको आरोप लगाए ।
 
उनले कम्युनिस्टको अधिनायकवाद र एकदलीय निरंकुशताविरुद्ध सबै एक हुनुपर्ने भन्दै आसन्न उपनिर्वाचनमा जनताले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।
 
नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश–३ मा एक लाख २१ हजार सदस्यहरु रहेका छन् ।